
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त इकाईमार्फत कर्मचारी तथा सेवाग्राहीले कार्यस्थलमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्।
निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यसबाट स्वास्थ्य सेवाका लागि अस्पतालसम्म पुग्नुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको हो।
सेवा इकाईमार्फत कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।