
रौतहटको यमुनामाई गाउँपालिका–१ निवासी आईटी विद्यार्थी राजु महतोले नेपालको पहिलो एआई (कृत्रिम बुद्धिमत्ता) आधारित मोबाइल एप ‘इडियूपाथ एआई’ र ‘ठगी स्टार्क’ निर्माण गरेका छन्।
हाल जापानको क्योटोस्थित केसीजी कलेजमा अध्ययनरत महतोले कुनै टोली वा संस्थागत सहयोगबिना एक्लैले यी निःशुल्क तथा अफलाइन एपहरू विकास गरेका हुन्।
‘इडियूपाथ एआई’ ले वैदेशिक अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आवश्यक जानकारी तथा एआईमार्फत परामर्श सेवा प्रदान गर्दछ। त्यसैगरी, ‘ठगी स्टार्क’ एपले विभिन्न प्रकारका ठगीबाट बच्ने उपाय, सुरक्षा सचेतना तथा कानुनी मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखेको छ।
महतोले यसअघि पनि विभिन्न वेबसाइट तथा डिजिटल प्लेटफर्महरू निर्माण गरिसकेका छन्। साथै, उनले क्विज र चेस प्रतियोगिताहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेका छन्।
उनले विकास गरेका यी दुई एआई एपबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ भने नेपाली प्रविधि क्षेत्रमा यस उपलब्धिलाई सकारात्मक रूपमा हेरिएको छ।