
लेटाङ । लेटाङ–७, वाराङ्गीस्थित टीका प्रसाद धितालद्वारा सञ्चालित होटल चिल्सिया एण्ड ट्रेडर्समा गत साउन २४ गते भएको आगलागीबाट ठूलो क्षति भएपछि पीडित परिवारलाई राहत तथा सहयोग जुट्ने क्रम जारी छ।
आगलागीबाट होटल तथा व्यापारिक सामग्रीमा क्षति पुगेपछि धिताल परिवारको सहयोगका लागि स्थानीयवासी, धार्मिक तथा सामाजिक संघसंस्था र विभिन्न व्यक्तित्वहरू सक्रिय भएका छन्।
यसै क्रममा लेटाङ–९ निवासी जगतगुरु शिवशक्ति बाबाले धिताल परिवारलाई भेटेर आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ४१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
विपद्का बेला पीडित परिवारलाई समाजको साथ र सहयोग आवश्यक हुने भन्दै शिवशक्ति बाबाले आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो।
धार्मिक तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका शिवशक्ति बाबाले यसअघि पनि मन्दिर निर्माण, धार्मिक संरचनाको विकास, आर्थिक रूपमा विपन्न तथा टुहुरा विद्यार्थी र विभिन्न विपद्मा परेका स्थानीयलाई सहयोग गर्दै आउनुभएको बताइएको छ।
आगलागीबाट ठूलो आर्थिक क्षति व्यहोरेको धिताल परिवारले संकटको समयमा प्राप्त भइरहेको सहयोग र सद्भावले आफूहरूलाई पुनः व्यवसायमा फर्किन हौसला मिलेको जनाएको छ। स्थानीयवासी तथा विभिन्न संघसंस्थाको निरन्तर सहयोगले विपद्को समयमा लेटाङको सामाजिक एकता र मानवीय सेवाको भावना थप उजागर भएको छ।