
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सुर्खेत–जुम्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो।
यसअघि कालीकोटको पिली, शुभकालिका गाउँपालिकास्थित गगने खोला र एस मोडमा खसेको पहिरो पन्छाएर मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। तर, दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
पहिरोका कारण सडकमा रोकिएका सवारीसाधन तथा यात्रुलाई आवागमनमा समस्या भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रुहरू प्रभावित भएका छन्।