
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४, प्रसाईं टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे। परिवारसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः उनले अस्पतालबाहिरै शिशुलाई जन्म दिनुपरेको उनले बताए।
सांसद कर्णले घटनाले गरिब, विपन्न तथा दलित समुदायका महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेका छन्।