
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा ४ विकेटको क्षतिमा १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर लगातार वर्षा भएपछि जापानले जवाफी ब्याटिङ गर्न पाएन र खेल रद्द गरियो।
यससँगै नेपालले २ खेलबाट ३ अंक जोड्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।