
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
लगातारको वर्षाका कारण पानीको सतह बढेर बस्ती डुबानमा परेपछि जोखिममा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानतर्फ सारेको हो। पानीको बहाव बढ्दै गएपछि जोखिममा परेका नागरिकको प्राथमिकताका आधारमा उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार टोलीले डुबान प्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीको अवस्थाबारे जानकारी लिँदै जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। उद्धार गरिएका सबै २५ जना सुरक्षित रहेको जनाइएको छ।
नदी तथा सीमावर्ती क्षेत्रमा पर्ने सुस्ता वर्षायाममा बाढी र डुबानको जोखिममा रहने भएकाले सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निगरानी तथा उद्धार तयारीलाई निरन्तरता दिएको जनाएको छ।