
धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
ट्राफिक प्रहरीले सूचना थाहा नपाई पहाडी क्षेत्रमा जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ। लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
तराईका कैलाली र कञ्चनपुरमा भने हाल सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन।