
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। बिहीबार सम्पन्न काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय तथा प्रदेश अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।
अधिवेशनले काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा रामप्रसाद लुईटेललाई चयन गरेको छ। यस्तै, प्रदेश ‘क’ सभापतिमा आशामान संगत र प्रदेश ‘ख’ सभापतिमा राधेश्याम कार्की चयन भएका छन्।
क्षेत्रीय तथा दुवै प्रदेशका कार्यसमितिका पदाधिकारीहरू पनि अधिवेशनबाट चयन भएका छन्। तीमध्ये अधिकांश पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका हुन्।
अधिकांश पदमा सहमतिमै नेतृत्व चयन भएपछि काठमाडौं–४ मा कांग्रेसको स्थानीय संगठनभित्र सहमतिको आधारमा नेतृत्व छनोट गर्ने प्रयास भएको देखिएको छ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष रहनेछ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा सम्पन्न क्षेत्रीय तथा प्रदेश अधिवेशनलाई आगामी नेतृत्व चयन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।