
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।
विभिन्न क्षेत्रमा सामाजिक तथा सार्वजनिक योगदान पुर्याउँदै आएका गोपालीलाई विशेषगरी जीवन बिज्ञान स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजित विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विनोद पहाडी, सन्तोषराज सहनी, भरत समारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका आयोजक अनमोल आर. भगत लगायतको समेत सहभागिता रहेको थियो।

सोही समारोहमा प्रमुख अतिथि डा. सीके राउतको हातबाट उपप्रमुख गोपालीलाई अवार्ड प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै गोपालीले प्राप्त अन्तर्राष्ट्रिय सम्मानले आफूलाई सामाजिक सेवा, धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन र स्थानीय विकासका क्षेत्रमा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताएका छन्।
थाहा नगरपालिकाको विकाससँगै यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले आफूले निरन्तर काम गर्दै आएको गोपालीको भनाइ छ। स्थानीय स्तरमा रहेका धार्मिक तथा आध्यात्मिक महत्वका क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारमार्फत पर्यटन विकासमा योगदान पुर्याउने प्रयासलाई यस सम्मानले थप हौसला दिएको बताइएको छ।

पछिल्लो समय थाहा नगरपालिका प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा आध्यात्मिक पर्यटनका दृष्टिले समेत सम्भावनायुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँका विभिन्न धार्मिकस्थल, मठमन्दिर, सांस्कृतिक सम्पदा तथा प्राकृतिक गन्तव्यलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ।
‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले थाहा नगरपालिकाको धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावनालाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गोपालीले लामो समयदेखि स्थानीय तहको जनप्रतिनिधिका रूपमा निर्वाह गर्दै आएको भूमिका तथा धार्मिक, सांस्कृतिक, पर्यटन र सामाजिक क्षेत्रसँग जोडिएका गतिविधिमा पुर्याएको योगदानलाई आधार बनाएर उक्त अवार्ड प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।
समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामाजिक सेवा, पर्यटन, आध्यात्मिकता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको आयोजकको भनाइ छ।
यससँगै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको नाम अन्तर्राष्ट्रिय ‘आइकन अवार्ड २०२६’ बाट सम्मानित हुने व्यक्तित्वका रूपमा थपिएको छ। उक्त सम्मानले थाहा नगरपालिकाको धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धनमा भइरहेको प्रयासलाई थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।