
तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय निर्माणबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र काठमाडौँस्थित थानी काली जोशी संयुक्त उपक्रम (जेभी) बीच ठेक्का सम्झौता सम्पन्न भएको छ।
आयोजनाको जलाशयका कारण प्रभावित हुने पुलहरूलाई उपयुक्त स्थानमा पुनःस्थापना तथा पुनर्निर्माण गर्ने उद्देश्यले सम्झौता गरिएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार पुल निर्माणका लागि करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
भण्डारीले स्थानीय बासिन्दासँग छलफल तथा परामर्श गरी पुल निर्माणका लागि उपयुक्त स्थान छनोट गरिएको जानकारी दिए। उनका अनुसार पुल निर्माणमा आवश्यक पर्ने उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेका छन्।
आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवा क्षेत्रमा चारवटा झोलुङ्गे पुल निर्माण गरिनेछ। जलाशय निर्माणका क्रममा पुराना पुल प्रभावित हुने भएकाले स्थानीयवासीको आवागमन सहज बनाउन नयाँ स्थानमा पुल पुनर्निर्माण गर्न लागिएको हो।
जलाशय निर्माणबाट प्रभावित क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख भण्डारीले बताए। स्थानीयवासीसँगको परामर्शमा पुल निर्माणस्थल निर्धारण गरिएकाले यसबाट दैनिक आवागमन सहज हुनुका साथै विभिन्न सेवा तथा सुविधामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।
ठेक्का सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माण सम्पन्न भएपछि जलाशयका कारण प्रभावित हुने क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता मिल्ने अपेक्षा गरिएको छ।