
कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत पर्ने सुखड बजारमा ‘जगदगुरु शिव शक्ति बाबा’सँग उपचार गराउन आउनेहरूको उल्लेख्य भीड देखिएको छ।
स्थानीय स्रोतका अनुसार कान नसुन्ने, आँखा नदेख्ने तथा बोली नफुट्ने जस्ता समस्याबाट पीडित बिरामीहरूलाई पानी फुकेर खुवाउने विधिबाट उपचार गरिने र त्यसबाट निको हुने दाबी गरिएको छ। कैलालीका विभिन्न स्थानका साथै टाढा–टाढाबाट समेत बिरामीहरू उपचारका लागि सुखड पुगेको बताइएको छ।
उपचारका लागि आएका केही बिरामी तथा उनका आफन्तहरूले उक्त विधिबाट लाभ भएको प्रतिक्रिया दिएका छन्।
यसैक्रममा ‘शिव शक्ति बाबा’सँग आशिर्वाद लिन पूर्व पर्यटनमन्त्री प्रेम आले समेत सुखड पुगेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू (VIP) को पनि बाक्लो उपस्थिति देखिएको स्थानीय स्रोतले बताएका छन्।


स्थानीय समुदायका अनुसार, सुखड बजारमा उपचार र आशिर्वादका लागि आउने भीडले स्थानिय आर्थिक र सामाजिक जीवनमा समेत प्रभाव पारेको छ। व्यापारीहरूले होटल, रेष्टुरेन्ट र बजार व्यवसायमा बढ्दो माग देखिएको बताए। त्यस्तै, स्वास्थ्य र धार्मिक कार्यक्रमहरू संयोजन गर्ने जिम्मेवार निकायहरूले यस प्रकारको उपचार र भीड व्यवस्थापनका लागि तयारी गर्न आवश्यक रहेको जनाएका छन्।