
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यान नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
सुर्खेतका विभिन्न नागरिक तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटना अमानवीय र निन्दनीय भएको बताएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या घटनाले सम्पूर्ण समाज स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन। सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक छ।” साथै महिला तथा बालबालिकामाथि हुने यौन हिंसा रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक तथा मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतलगायत संस्थाले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी रूपमा छानबिन हुने तथा दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास व्यक्त गरेका छन्। प्रदेश सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याएर न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलवार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म परिवारले बालिकाको शव बुझेका छैनन्। शवपरीक्षणका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरी प्रतिवेदन दिएको छ। प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा विक उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। बिहान करिब ९ बजे स्थानीयले उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटेपछि प्रहरीले प्रदेश अस्पताल सुर्खेत पु¥याएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।