
कास्की । देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा नागरिकहरूले विरोध प्रदर्शन गरेका छन्। सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि स्वतःस्फूर्त रूपमा प्रदर्शन गरिएको हो।
महिलामाथि हुने हिंसा र बलात्कारका घटना दिनहुँ बढिरहेको भन्दै प्रदर्शनकारीहरूले प्लेकार्डसहित विरोध जनाएका थिए। केही दिनअघि सुर्खेतमा भएको उक्त घटनामा न्यायको माग गर्दै प्रशासन कार्यालयको गेटअगाडि भेला भएर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शन कुनै संस्था वा आयोजकको पहलमा नभई स्वतःस्फूर्त रूपमा भएको बताइएको छ। प्रदर्शनमा सहभागीहरूले “छोरीहरूलाई बाँच्न दे, बलात्कारीलाई दण्ड दे”, “सरकार सुतिरहेको छ, छोरीहरू लुटिरहेका छन्” र “हत्यारा संरक्षण बन्द गर, कानुनी कठघरामा खडा गर” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सहभागीहरूले महिलामाथि भइरहेका विभेद, हिंसा र बलात्कारका घटनाहरू रोक्न सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन्। साथै दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय तथा सुरक्षा सुनिश्चित गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
अभियन्ता सरस्वती पुरीका अनुसार पछिल्लो समय महिलामाथि हुने हिंसा र बलात्कारका घटनाहरू बढ्दै जाँदा पनि पीडितले सहज रूपमा न्याय पाउन नसकेको अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दबाब दिन यस्तो प्रदर्शन गरिएको हो।
त्यस्तै अभियन्ता सिवानी पौडेलले सुर्खेतमा भएको घटनाले देशभर नागरिकलाई आक्रोशित बनाएको र त्यसको प्रतिविम्बका रूपमा पोखरामा पनि विरोध प्रदर्शन भएको बताइन्।
प्रदर्शनकारीहरूले अहिलेको विरोध सांकेतिक मात्र भएको जनाउँदै यदि पीडितले न्याय नपाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै नागरिकहरूले यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।