
भारतको झारखण्ड राज्यस्थित जमशेदपुर मा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहे भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचारअनुसार शुक्रबार राति जमशेदपुरको मलियांता गाउँका ललित सिंह नामक युवकले बिहे भोजमा रसबरी खाइरहेका बेला मिठाई घाँटीमा अड्किएपछि अचानक सास फेर्न गाह्रो भएको थियो।
त्यसपछि उपस्थित मानिसहरूले उनको घाँटीमा अड्किएको रसबरी निकाल्ने प्रयास गरेका थिए। तर प्रयास सफल नभएपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको बताइएको छ।
यस घटनाले खुशीको माहोलमा चलिरहेको बिहे समारोह एकाएक शोकमा परिणत भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।