
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत १० गते प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी गरिएको छ। उच्च स्रोतका अनुसार सोही दिनका लागि ‘शुभ साइत’ समेत तय गरिएको जनाइएको छ।
शाहको सपथग्रहण लगत्तै मन्त्रिपरिषद्का सदस्यहरूको पनि एकैपटक सपथग्रहण गराउने तयारी रहेको बताइएको छ। विगतमा जस्तो चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार नगरी यसपटक पूर्ण मन्त्रिपरिषद् एकैपटक गठन गर्ने योजना रास्वपाले बनाएको स्रोतको दाबी छ।
पार्टीले चैत ८ र ९ गतेभित्र मन्त्रिपरिषद् गठनसम्बन्धी सबै निर्णय टुंग्याउने र १० गते सपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् चयनमा भौगोलिक सन्तुलन, जातीय तथा क्षेत्रीय प्रतिनिधित्व, चुनावी परिणाम, विज्ञता र लैङ्गिक समावेशितालाई प्राथमिकतामा राखिने जनाइएको छ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झण्डै एकल दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। पार्टीले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।
प्रधानमन्त्री नियुक्तिको संवैधानिक प्रक्रिया अनुसार, निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउनेछ। त्यसपछि रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्तिका लागि आव्हान गर्नेछन्। यी सम्पूर्ण प्रक्रिया चैत १० गतेअघि नै पूरा हुने बताइएको छ।