
६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानी माइतीघर मण्डला मा विशेष कार्यक्रम आयोजना गरिएको छ।
विभिन्न दलित अधिकारकर्मी संघसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको उल्लेख्य सहभागितामा आयोजित कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको थियो।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार ले जातीय विभेदविरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताउनुभयो।
उहाँले सामाजिक न्यायप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो, “म सरकारमा होस् वा नहोस्, जातीय विभेदविरुद्ध आवाज उठाउन कहिल्यै छाड्दिनँ। हाम्रो आफ्नै नेतृत्वको सरकारले यस विषयमा गल्ती गरेमा त्यसको विरुद्धमा पनि निर्धक्क भएर आवाज उठाउनेछु।”