
११ चैत, काठमाडौं। अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीहरूमा डोजर प्रयोग गरेर आतंक सिर्जना नगर्न सरकारसँग माग गरेको छ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै सुकुमबासी बस्तीहरूमा डोजर चलाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो।
संघका अनुसार सरकारले कानुनी रूपमा भूमिहीन तथा अव्यवस्थित सुकुमबासी समस्याको समाधान गर्नुपर्नेमा उल्टै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका बस्तीहरूमा डोजर चलाएर त्रास फैलाएको आरोप लगाएको छ।
अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका–७ धापासीस्थित सुकुमबासी बस्तीका १८ घरमा चैत ९ गते डोजर चलाइएको जानकारी दिए। उनका अनुसार यसअघि काठमाडौंको सिफल र भक्तपुरका सुकुमबासी बस्तीहरूमा पनि डोजर प्रयोग गरिएको थियो।
उनले वर्तमान सरकारलाई निर्वाचनबाहेक अन्य काम गर्ने अधिकार नभएको उल्लेख गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनुको आवश्यकता किन परेको हो भन्ने प्रश्न गरे।
साथै, सुकुमबासी बस्तीमा डोजर चलाइएको विषयमा सरकार गठन गर्न लागेको राजनीतिक दलहरू मौन बसेकोप्रति पनि उनले आपत्ति जनाएका छन्।


