
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आज मध्याह्न १२:३४ बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
बालेन नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरू योग्यताको आधारमा छनोट गरिने बताएका थिए। उनले सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई नेतृत्वमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। यस कारण धेरै सांसदहरू अझै अन्योलमा देखिएका छन्।
प्रधानमन्त्री बन्न लागेका बालेन शाहले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषद् बनाउने विषयमा समेत छलफल भइरहेको छ। तर, कति मन्त्रालय रहने भन्ने विषय अझै सार्वजनिक गरिएको छैन।
आज बिहान ७ बजेदेखि बालेन शाह, सभापति रवि लामिछाने, उपसभापतिहरू स्वर्णिम वाग्ले र डीपी अर्यालबीच छलफल भएको छ। छलफलमा मन्त्रालयको संख्या र मन्त्री बन्ने सांसदहरूको नामबारे विचार–विमर्श गरिएको छ। स्रोतका अनुसार स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा पनि चर्चा भएको छ।
त्यसैगरी, डीपी अर्याल, शिशिर खनाल, सुनिल लाम्साल, सोबिता गौतम, सस्मित पोखरेल, अमरेश कुमार सिंह, लेखजंग थापा, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश पराजुलीलगायतका नामहरू मन्त्रीका रूपमा चर्चामा छन्।
स्रोतका अनुसार हालसम्म स्वर्णिम वाग्ले, शिशिर खनाल, सुनिल लाम्साल र सस्मित पोखरेलको नाम मन्त्रीका लागि टुंगिएको बताइएको छ। अन्य नामहरू भने अझै निश्चित भइसकेका छैनन्।
यसैबीच, रास्वपाले १५ देखि १८ वटा मन्त्रालय बनाउने तयारी गरेको छ। मन्त्रीहरूको भागबण्डा बालेन शाह र रवि लामिछानेबीच हुने बताइएको छ। स्रोतका अनुसार कुल मन्त्रीमध्ये करिब ४० प्रतिशत हिस्सा बालेन पक्षलाई पर्नेछ, जसअनुसार १८ मध्ये झन्डै ८ मन्त्री बालेनको भागमा पर्न सक्ने अनुमान गरिएको छ।