
बागमती। आर्थिक सङ्कटसँग जुधिरहेको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित तथा पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ।
सरकारले रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने घोषणा गरेसँगै लामो समयदेखि कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थाबाट गुज्रिरहेको उक्त उद्योगलाई स्थायी रूपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको हो।
सांसद प्रकाश गौतमले उद्योगलाई नियमित सञ्चालनमा ल्याउन संघीय तथा बागमती प्रदेश सरकारसँग निरन्तर पहल भइरहेको बताएका छन्। उनले प्रधानमन्त्री र उद्योगमन्त्रीसँग समेत छलफल भएको जानकारी दिँदै बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि सकारात्मक छलफल भएको बताए।
“उद्योगलाई कसरी नियमित सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सबै तहमा कुरा भइरहेको छ,” सांसद गौतमले भने, “कर्मचारी र सरोकारवालासँग पनि छलफल भएको छ, सुझाव सकारात्मक छन्।”
उनका अनुसार उद्योगमा राजनीतिक हस्तक्षेप, व्यवस्थापन कमजोरी र भ्रष्टाचार नियन्त्रण गर्न सकेमा उद्योग पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखिन्छ।
उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उत्पादन सञ्चालन भएको थियो। सो अवधिमा करिब २,५०० टन क्लिङ्कर र करिब ३०,००० बोरा सिमेन्ट उत्पादन गरिएको थियो।
निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरिए पनि कच्चा पदार्थको अभावका कारण पुनः अवरुद्ध भएको हो।
उनले कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता भुक्तानी नहुँदा आपूर्ति रोकिएको जानकारी दिए। “अबको एक–दुई दिनमै उत्पादन बन्द हुने अवस्था छ,” उनले भने।
उद्योगले दैनिक करिब १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल आपूर्ति सम्भव नभएको र बक्यौता समस्याका कारण तत्काल समाधानको सम्भावना कमजोर रहेको उनले बताए।
उद्योगमा १६६ स्थायी कर्मचारी, करिब १०० दैनिक ज्यालादारी कर्मचारी र ५२ सुरक्षाकर्मी गरी कुल ३१८ जनशक्ति कार्यरत छन्। निरन्तर आर्थिक सङ्कटका कारण विद्युत् महसुलसमेत तिर्न नसक्दा बक्यौता थपिँदै गएको छ।
वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भई २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको यो उद्योग हाल पुराना उपकरण र कमजोर व्यवस्थापनका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको प्राविधिकहरूको भनाइ छ।