
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री डा. तिमिल्सिनाले नेपाल–जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा नेपालले हेर्दै आएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने बताए।
उनका अनुसार नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए। यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान महत्वपूर्ण हुने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम भई लगानीमैत्री वातावरण क्रमशः विकास हुँदै गएको उल्लेख गर्दै नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण र प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानी आकर्षित गर्ने सरकारको योजना रहेको बताए। विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, क्लाउड पूर्वाधार, ई–गभर्नेन्स प्रणाली तथा नवप्रवर्तन क्षेत्रमा लगानी आवश्यक रहेको उनले बताए।
राजदूत तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबीच थप सहकार्यको सम्भावना रहेको बताए। उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने धारणा राखे।
उनले नेपालका युवाशक्ति र जापानको प्रविधि तथा व्यवस्थापकीय अनुभवलाई जोडेर दुवै देशले पारस्परिक लाभ लिन सक्ने बताए। साथै जापानमा करिब तीन लाख नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै तीमध्ये ठूलो सङ्ख्या सूचना प्रविधि, इन्जिनियरिङ र सेवा क्षेत्रमा आबद्ध रहेको जानकारी दिए।
राजदूत तोरुले विदेशमा रहेका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालतर्फ आकर्षित गर्न सके डिजिटल रूपान्तरणलाई गति दिन सकिने बताए। उनले नेपाली डायस्पोरालाई केवल श्रमशक्ति मात्र नभई ज्ञान, लगानी र नवप्रवर्तनका साझेदारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रति चासो अझ बढ्न सक्छ। साथै प्रविधि–आधारित उद्योग, सफ्टवेयर विकास, स्टार्टअप इकोसिस्टम तथा डिजिटल सेवा क्षेत्रमा जापानी लगानी आकर्षित गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे।