
लहान, वैशाख १५ । मधेश प्रदेशको महत्वपूर्ण हुलाकी मार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ। बाँध भत्किएसँगै केही समयका लागि आवतजावत पूर्ण रूपमा प्रभावित बनेको थियो।

पुलको डाइभर्सनभन्दा करिब तीन सय मिटर अगाडि बनाइएको उक्त बाँध बीच भागमै क्षतिग्रस्त भएपछि सवारी साधन सञ्चालनमा अवरोध आएको स्थानीयले बताएका छन्। सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारी साधन बाटोमै अलपत्र परेका थिए, जसलाई स्थानीयको सक्रियतामा व्यवस्थापन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले तत्काल जेसीबी प्रयोग गरी माटो हालेर समस्या अस्थायी रूपमा समाधान गरिएको जानकारी दिनुभयो। वर्षायाममा दीर्घकालीन समाधानका लागि सिरहाका विभिन्न निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो।
स्थानीय बासिन्दाका अनुसार वर्षायाममा स्थायी समाधान नभए कमलापारिका किसानहरूलाई यस वर्ष पनि खेतीपातीमा समस्या हुने चिन्ता बढेको छ। करिब १४ वर्षअघि ठेक्का लागेको पुल अझै सम्पन्न नहुँदा स्थानीयले निरन्तर सास्ती भोग्दै आएका छन्। २०७८ असार १७ गते आएको बाढीले निर्माण सम्पन्न भइसकेको र उद्घाटनको तयारीमा रहेको पुल समेत भासिएको थियो।
कमला पुल निर्माणका लागि २०६८ जेठमा लुम्बिनी जेभीसँग १४ करोड ९१ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। २०७१ मङ्सिरमै सम्पन्न हुनुपर्ने योजना हालसम्म पूरा हुन नसक्दा खर्च २० करोड ४३ लाख रुपैयाँ नाघिसकेको छ।
पुलको पुनर्निर्माण तथा दीर्घकालीन समाधानका लागि क्षेत्रीय सांसदहरूले पहल गरिरहेको जनाइएको छ।


