
रूपन्देहीको सैनामैना क्षेत्रमा पर्ने घमाहा खोलाको पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सवारी आवागमन प्रभावित भएको छ। मंगलबार दिउँसो निर्माणाधीन सडक खण्डमा रहेको उक्त पुल भासिएको पुष्टि प्रहरीले गरेको हो।
सैनामैना नगरपालिका–५ स्थित पुलमा समस्या आएपछि इलाका प्रहरी कार्यालय बुटवलले सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पुल मर्मतमा कम्तीमा तीन दिनदेखि एक सातासम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।
हाल वैकल्पिक मार्गका रूपमा सैनामैना–४ लुम्बिनी रोड हुँदै कुश्मा, बक्सडाँडा हुँदै कलौनी जोड्ने करिब ३ किलोमिटर लामो डाइभर्सन सञ्चालनमा ल्याइएको छ।
बुटवल–गोरुसिंगे सडक विस्तार कार्य जारी रहेकाले यसअघि पनि सडकमा खाल्डाखुल्डी तथा अवरोधका कारण यात्रुहरूले सास्ती भोग्दै आएका थिए। पुल भासिएपछि समस्या अझ बढ्ने देखिएको छ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू बुटवलबाट भैरहवा, लुम्बिनी, तौलिहवा हुँदै गोरुसिंगेतर्फ पठाइएको छ भने पश्चिमबाट पूर्व आउने सवारीहरू गोरुसिंगेबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै गन्तव्यतर्फ अघि बढिरहेका छन्।
प्रहरीले अत्यावश्यक बाहेकका यात्रामा सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न पुनः अनुरोध गरेको छ।