
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री उपस्थित नभई संसद् बैठक चल्न नदिने अडान लिएको छ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीको उपस्थितिबिना अघि बढ्न नदिने संकेत गरेका हुन्।
उनीहरूले संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गरिरहेका छन्। तर सभामुखले भने प्रधानमन्त्रीलाई रुलिङ गर्नुको सट्टा प्रतिपक्षीलाई संयमित हुन आग्रह गरिरहेका छन्।
यसअघि पहिलो बैठकमा पनि यस्तै माग उठेपछि बैठक केहीबेर स्थगन गरिएको थियो। दोस्रो बैठक सुरु भएलगत्तै प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव पेस गरेका थिए।
त्यसपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाइरहेका छन्। प्रतिपक्षी सांसदहरूले बोल्न समय माग गरिरहँदा सत्तापक्षका सांसदहरूले पनि बोल्न माग गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालन सहज बनाउन सबै पक्षलाई आग्रह गरिरहेका छन्।