
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार आफ्नो राजीनामापत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका हुन्। मन्त्रालय स्रोतले भट्टको राजीनामा पुष्टि गरेको छ।
सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्दै नयाँ प्रक्रियामार्फत नेतृत्व चयन गर्ने तयारी गरिरहेको भए पनि आयल निगमको नेतृत्व भने उक्त निर्णयको दायरामा परेको थिएन।
यद्यपि, कार्यसम्पादनसँगै पछिल्लो समय बढ्दो राजनीतिक दबाबका कारण भट्टले स्वेच्छिक रूपमा राजीनामा दिएको बताइएको छ।