
काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२, भँके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका करिब ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोही राति करिब १०:४० बजे उनको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनको साथबाट लागुऔषधजन्य औषधि Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
यसै घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२, बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।