
भद्रपुर (झापा) । झापामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले सोमबार र मंगलबार जिल्लाका विभिन्न शंकास्पद स्थानमा अपरेसन सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ७९ पुरुष र ४ महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता तथा ९ जना लागुऔषध कारोबारी रहेका छन्। अपरेसनका क्रममा पक्राउ परेकाहरूको साथबाट ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले मुख्य कारोबारीका रूपमा दमक नगरपालिका–३ का २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ की ३० वर्षीया सरिता राजवंशीलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरूको साथबाट ६ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय देवेन्द्र विकको साथबाट १ ग्राम ४२० मिलिग्राम तथा बिर्तामोड–३ स्थायी घर भई हाल वडा नं. ४ मा बसोबास गर्दै आएका ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलिग्राम खैरो हेरोइन फेला परेको छ।
प्रहरीले बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय चाल्स लिम्बू र वडा नं. ३ का ३० वर्षीय उमेश राजवंशीलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।
यस्तै, शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ नामले चिनिने सुरज ढकालको कोठामा गरिएको खानतलासीका क्रममा २० ग्राम ४१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–१४ निवासी २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकरभिट्टाकी ६० वर्षीया सीता राजवंशीको साथबाट समेत १० ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
प्रहरी नायब उपरीक्षक अवाका अनुसार पक्राउ परेका ९ जना कारोबारीमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। अन्य सेवनकर्तालाई आवश्यक मनोपरामर्श प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको छ।