
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५० चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट रु १७ लाख २४ हजार ५०३ राजस्व राज्यकोषमा जम्मा भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४० जना तथा तीव्र गतिमा सवारी चलाउने २०७ जना कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १४ वटा सवारीसाधन, सवारीको प्राविधिक अवस्था परीक्षण नगरी सडकमा सञ्चालन गरिएका ३५ वटा सवारीसाधन तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७४६ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।