
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। समाजमा लागुऔषध दुरुपयोगले पारिरहेको गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ।
राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस का रूपमा मनाउने निर्णय गरेको हो। लागुऔषधमुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रयासलाई थप सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकहरूमा विश्वभर लागुऔषधको प्रयोग तथा यसको अवैध बजार दुवै विस्तार हुँदै गएका छन्। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। साथै, कम लागतमा उत्पादन गर्न सकिने र पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि तीव्र रूपमा फैलिरहेको छ।