
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। सरुवा प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली विकास गरेको हो।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइल मा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ।
सरुवासम्बन्धी आवेदन व्यवस्थापनका लागि प्रणालीमा फ्ल्यागिङ प्रणाली समेत समावेश गरिएको छ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग पुर्याउनेछ।
त्यसैगरी, कर्मचारीहरूले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनमै हेर्न सक्नेछन्।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआई मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यस्तै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।