ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू
हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थधाममा नारीहरू व्रत तथा उपवास बसेर सप्तऋषिको श्रद्धापूर्वक पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन्।
ऋषिपञ्चमीका दिन बिहानैदेखि मनोरथ तीर्थधाममा भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक आस्था बोकेर पुगेका महिलाहरूले तीर्थस्थलमा स्नान तथा शुद्धीकरण गरी सप्तऋषिको पूजा, आराधना र दर्शन गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा होस् भन्ने कामना गरिरहेका छन्।
धार्मिक परम्पराअनुसार ऋषिपञ्चमीमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गर्ने चलन छ। यस दिन जान–अन्जानमा भएका त्रुटि तथा पापबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।
समाज, धर्म, संस्कृति र ज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्राचीन ऋषिमुनिहरूको स्मरण तथा सम्मान गर...






