
प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू क्रमशः पुनः सञ्चालन र सुधारको बाटोमा अघि बढिरहेको बताएका छन्। इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण राष्ट्रिय उद्योगहरू चलायमान हुन थालेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु. २ करोड ३८ लाखको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा रु. ३ करोड नाफा कमाएको छ। हाल ११ प्रकारका औषधि उत्पादन भइरहेकोमा थप २५ प्रकारका औषधि उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा अघि बढेको छ। उद्योगका तान मर्मतपछि परीक्षण उत्पादनसमेत सुरु भएको जनाइएको छ।
नेपाल वायुसेवा निगमले चैतदेखि असारसम्म रु. ६ अर्ब २७ करोड आम्दानी गरेको छ। सो अवधिमा सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको र जहाजको ऋणबापत रु. १ अर्ब ६ करोड किस्ता भुक्तानी गरिएको बताइएको छ।
त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको बक्यौता रु. ७२ करोडबाट घटाएर रु. ३५ करोडमा झारेको छ। दैनिक राजस्व रु. ९० लाख पुगेको र अनावश्यक सुविधा कटौतीबाट रु. ३ करोड बचत गरिएको जनाइएको छ।
सिंहदरबार वैद्यखाना विकास समितिको कारोबारसमेत बढेर रु. १३ करोड पुगेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेकोमा यसै वर्ष १५० प्रकार पुर्याउने लक्ष्य राखिएको छ।
प्रधानमन्त्री शाहले यी उपलब्धिलाई सकारात्मक सुरुवातका रूपमा लिँदै निराश नभई सरकारी उद्योगको सुधार र पुनरुत्थानमा साथ दिन आग्रह गरेका छन्।