
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
तेस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ भने सहभागी आठवटै फ्रेन्चाइज टोली विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।
यसपटक पनि आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने भएकाले एनपीएलको तेस्रो संस्करणलाई नेपाली क्रिकेट समर्थकमाझ थप रोमाञ्चक रूपमा हेरिएको छ।