
बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य तीव्र पारिएको छ। सुरुङमा जमेको लेदो हटाउँदै ड्रिलिङमार्फत उद्धारको बाटो खोल्ने प्रयास भइरहेको छ।
उद्धारका क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान गर्न टोली सफल भएको छ। क्राउन पहिचान भएपछि ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी भइरहेको छ।
क्यामेरामार्फत सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउने तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउने प्रयास भइरहेको छ। साथै, सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई पनि सँगसँगै अघि बढाइएको छ।
प्रतिकूल मौसम, लेदो र कठिन भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सम्भावित रूपमा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि टोलीले उपलब्ध सबै उपाय अपनाएर काम गरिरहेको जनाएको छ।