
काठमाडौं । सरकारले गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवस्तरीय निर्णयबाट गत असोज १ गते गरिएको मनोनयनसम्बन्धी सूचना हालै सार्वजनिक भएको हो।
गुञ्जन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध जेन–जी पुस्ताकी नेतृ हुन्। गत वर्ष भएको जेन–जी आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी थिइन्। आन्दोलनपछि राष्ट्रपति कार्यालयसँगको संवाददेखि नेपाली सेनाको जंगीअड्डासम्मका विभिन्न गतिविधिमा उनको उपस्थिति देखिएको थियो।
उनी हाल गृहमन्त्री सुधन गुरुङसँग निकट रहेको बताइन्छ। गुरुङसँगै रास्वपामा प्रवेश गरेकी उनलाई पार्टीको नवप्रवर्तन विभागको सदस्यसमेत बनाइएको थियो। रास्वपाको चितवन महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्।

बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि गुञ्जन उद्योगमन्त्री गौरी यादवको स्वकीय सचिव बनेकी थिइन्। ग्यास प्रकरणपछि यादवले पदबाट राजीनामा दिएसँगै उनको स्वकीय सचिवको जिम्मेवारी पनि समाप्त भएको थियो। त्यसपछि उनलाई क्यानमा बोर्ड सदस्यको जिम्मेवारी दिइएको हो।
गुञ्जनसँग क्रिकेटसम्बन्धी गहिरो नीतिगत ज्ञान वा लामो अनुभव नरहेको समाचारमा उल्लेख छ। जेन–जी आन्दोलनअघि उनी प्राङ्क भिडियो तथा भ्लग बनाउने गर्थिन् भने गाउँघरमा सामान्य रूपमा क्रिकेट खेल्ने गरेको बताइएको छ।
जेन–जी आन्दोलनपछि गत जनवरीमा नेपालले खेलेको एक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनले लियाजन अफिसरका रूपमा समेत काम गरेकी थिइन्। लियाजन अफिसरको मुख्य भूमिकामा विदेशी टोलीका खेलाडी तथा प्रतिनिधिलाई आवश्यक समन्वय र सहयोग गर्नुका साथै दोभाषेको कामसमेत पर्छ। उनले आफ्नो फेसबुक बायोमा क्यानमा एक महिना काम गरेको उल्लेख गरेकी छन्।
क्यानको वर्तमान कार्यसमितिको कार्यकाल २०८४ असोजमा समाप्त हुँदैछ। त्यसअघि नै नयाँ नेतृत्व चयनका लागि करिब चार महिनापछि जिल्ला तहबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ।
क्यानको विधानअनुसार राष्ट्रिय खेलकुद परिषद्बाट दुई जना बोर्ड सदस्य मनोनीत गर्ने व्यवस्था छ। यसअघि खेलकुद ऐनमा समेत प्रत्येक खेल संघको कार्यसमितिमा दुई जना राखेप प्रतिनिधि अनिवार्य रहने प्रावधान थियो। तर उक्त व्यवस्था २०७७ सालमा ऐनबाट हटिसकेको छ। क्यानको विधानमा भने राखेपबाट दुई जना बोर्ड सदस्य मनोनीत गर्ने व्यवस्था अझै कायम छ।
यही प्रावधानअनुसार यसअघि छुम्बी लामा क्यानको मनोनीत बोर्ड सदस्य बनेका थिए। नयाँ सरकार गठनपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाइएपछि रिक्त रहेको पदमा ठकुरीलाई मनोनीत गरिएको हो।
नेपाली क्रिकेटको नियमनकारी निकाय क्यानको बोर्ड सदस्यलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिइन्छ। यद्यपि, पदाधिकारी तथा बोर्ड सदस्यका लागि मासिक तलबको व्यवस्था छैन। बोर्ड बैठकमा सहभागी हुँदा भत्ता पाउने तथा आवश्यकताअनुसार विदेश भ्रमणको अवसर प्राप्त हुन सक्ने व्यवस्था छ।
मनोनीत बोर्ड सदस्यलाई भने मतदानको अधिकार हुँदैन। उनीहरूले बोर्ड बैठकमा सहभागी भएर आफ्ना धारणा राख्न सक्छन्, तर निर्णय प्रक्रियामा मतदान गर्न पाउँदैनन्। बोर्डले आवश्यकताअनुसार उनीहरूलाई थप जिम्मेवारी भने दिन सक्ने व्यवस्था छ। यसअघि मनोनीत बोर्ड सदस्य छुम्बी लामाले क्यानको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए।
क्यानका प्रवक्ता पारस खड्काले राखेपले गरेको मनोनयनबारे आफूले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी पाए पनि आधिकारिक पत्र भने प्राप्त नभएको बताएका छन्।
उनले भने, “मैले पनि सामाजिक सञ्जालबाट देखेँ। निर्णय भइसकेको हुन सक्छ, तर हामीकहाँ आधिकारिक पत्र आइपुगेको छैन।”
राखेपका सदस्यसचिव रामचरित्र मेहताले भने मनोनयनसम्बन्धी पत्र पठाइसकिएको जानकारी दिएका छन्।