
तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ।
गत असोज ११ गते आएको बाढीले कालीगण्डकी नदीमाथि रहेको पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि आवागमन ठप्प भएको थियो। अस्थायी पहुँचमार्ग निर्माण गरी मर्मत कार्य सम्पन्न गरिएसँगै बुधबारदेखि पुलमा सवारीसाधन सञ्चालनमा आएका हुन्।
नवलपुरतर्फको अस्थायी पहुँचमार्ग गत साता नै निर्माण सम्पन्न भएको थियो भने तनहुँतर्फको सडक मर्मत कार्य बुधबार पूरा भएको हो। दुवैतर्फको पहुँचमार्ग निर्माण भएपछि पुलबाट सवारीसाधन आवतजावत गर्न थालेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिएका छन्।
पुलको तनहुँतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जास्थित सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौतामार्फत सम्पन्न गरेको हो।
पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायतका स्थानमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई समेत राहत पुग्नेछ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै अवस्थित छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि महत्त्वपूर्ण मानिने यस पुलको पहुँचमार्ग अवरुद्ध हुँदा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन प्रभावित भएका थिए।
पुल सञ्चालनमा आएसँगै दसैँका बेला घर जाने यात्रु तथा स्थानीय नागरिकलाई आवतजावतमा सहजता मिल्ने विश्वास गरिएको छ। लामो समयदेखि अवरुद्ध रहेको सडक सम्पर्क पुनःस्थापित भएपछि स्थानीय क्षेत्रमा यातायात र ढुवानी सेवा पनि सहज हुने अपेक्षा गरिएको छ।