
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बग्ने बागमती नदी तथा नदी किनारमा फोहर फाल्ने कार्य नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। महानगरपालिकाले आगामी शनिबारदेखि बागमती नदी र यसको दायाँ–बायाँ क्षेत्रमा फोहर फाल्ने व्यक्ति, समूह वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरेको छ।
महानगरका अनुसार नदी प्रदूषण बढ्दै जाँदा वातावरण, जनस्वास्थ्य र शहरी सौन्दर्यमा नकारात्मक असर परेकोले यस्तो कदम चालिएको हो। नदी सफा र व्यवस्थित राख्न नियमित अनुगमन गरिने तथा फोहर फाल्ने कार्य भेटिएमा जरिवाना तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
महानगरपालिकाले बागमती नदीलाई स्वच्छ र सुरक्षित बनाउन सबै नागरिक, व्यवसायी तथा सरोकारवालालाई नदी किनारमा फोहर नफाल्न र सरसफाइ अभियानमा सहयोग गर्न पनि अनुरोध गरेको छ।