
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्।
प्रहरीले प्रसाईंलाई शुक्रबार काठमाडौंको दक्षिणकालीस्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो। उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला नियन्त्रणमा लिइएका थिए।
प्रसाईंले पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, त्यसपछि मात्रै निर्वाचन’ हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। गत १९ माघमा चितवनमा आयोजित कार्यक्रममा उनले राजसंस्था पुनर्स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने बताएका थिए। प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम आयोजना गरिएपछि त्यहाँ केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।