
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने तयारी गरेको छ।
शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द हुने भएकाले आइतबार पेश गर्ने निर्णय गरिएको हो। उनीहरूलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको छ।
बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा रहेको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नुअघि ओलीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी थमाइएको थियो।
यसैबीच, गृहमन्त्री सुदन गुरुङ ले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन् कि ओली र लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु प्रतिशोध होइन, केवल कानुनी प्रक्रिया र न्यायको सुरुआत हो।