
काठमाडौं — विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरिएको छ। शोभाभगवती क्षेत्रमा सरसफाइका क्रममा आइतबार बिहान उक्त हतियार फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं का एसएसपी रमेश थापा का अनुसार बरामद सामग्रीमा टाइप–५४ पेस्तोल चार थान, सोही पेस्तोलका सात थान म्यागजिन तथा ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली रहेका छन्।
महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले फोहोर व्यवस्थापन गर्ने क्रममा उक्त हतियार फेला पारेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार ‘जेनजी’ आन्दोलनका बेला प्रहरीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


