
रूपन्देहीको भैरहवामा आगामी वैशाख ८ गतेदेखि खुकुरी टी–२० कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा प्रतियोगिता सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा सञ्चालन गरिनेछ।
आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने जानकारी दिएको हो। क्लबका अध्यक्ष महेश थापाका अनुसार प्रतियोगितामा तीन भारतीय टोलीसहित १६ समूहको सहभागिता रहनेछ।
प्रतियोगिता संयोजक तथा सहसचिव नन्दन श्रेष्ठले नेपाली क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “यस प्रतियोगिताले स्थानीय मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने विश्वास छ।”
क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका खेलेको आयोजकको दाबी छ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार ५५५ रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ।
सिद्धार्थनगर नगरपालिका–१ का वडाध्यक्ष उज्ज्वल पोखरेलले क्लबले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताए। साथै, वडाबाट प्रतियोगिताका लागि पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको पनि उनले जानकारी दिए।