
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान आज पनि निरन्तर अघि बढाइएको छ। सरकारले हिजो अधुरो रहेका संरचना हटाउने कामलाई तीव्रता दिँदै बिहानैदेखि टोली परिचालन गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार (बुद्धचोक) र वडा नं. ९ को मनोहरा क्षेत्रमा रहेका जोखिमपूर्ण बस्ती हटाउने कार्य सुरु गरिएको छ। डोजर प्रयोग गरी असुरक्षित संरचनाहरू हटाउने क्रम जारी रहेको छ।
बस्ती हटाउनुअघि स्थानीयवासीका सरसामान सुरक्षित रूपमा निकाल्न र स्थानान्तरण गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्। सम्बन्धित क्षेत्रका संरचना हटाइसकेपछि बाँकी रहेका काठमाडौँ महानगरपालिका वडा नं. ९ (गैरीगाउँ) र वडा नं. ३१ (शान्तिनगर) का नदी किनारका बस्तीहरू पनि खाली गरिने जनाइएको छ।
यसअघि काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रमा रहेको सरकारी जग्गा शान्तिपूर्ण रूपमा खाली गरिएको थियो।
हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आइसकेका छन्। ती परिवारका लागि अस्थायी रूपमा होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको सरकारी स्रोतले जनाएको छ।


