
१६ वैशाख, काठमाडौं – नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारी र सत्तारुढ दलहरूको सिफारिसका आधारमा मात्र नियुक्ति हुने परम्परा रहँदै आएको थियो।
परराष्ट्रमन्त्री शिशिर खनाल को सचिवालयका अनुसार अब निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गर्ने योजना बनाइएको छ। सोमबार परराष्ट्र मन्त्रालय मा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सोच रहेको बताएका थिए। यद्यपि विज्ञापन खुल्ने मिति भने अझै तय भइसकेको छैन।
स्रोतका अनुसार उक्त प्रस्तावमा प्रधानमन्त्रीको समेत सहमति भइसकेको छ र चाँडै विज्ञापन खुल्ने सम्भावना रहेको छ। मन्त्रीको सचिवालयका एक सदस्यले अर्को हप्ताभित्र दरखास्त आह्वान हुन सक्ने संकेत दिएका छन्।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी) र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ।
हाल नेपालका ४४ वटा विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय सञ्चालनमा छन्। अहिले भारत, चीन, अमेरिका र बेलायतलगायत १७ वटा राजदूत पद रिक्त छन्।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त गरिएका राजदूतहरूलाई पछि बनेका सरकारहरूले फिर्ता बोलाउने निर्णय गरेका थिए। आगामी जुलाई अन्त्यसम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिँदैछ। त्यसपछि वर्तमान सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउनेछ।