
विराटनगर । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्रबाट उक्त एम्बुलेन्ससहित दुई जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन्।
एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ ओसारपसार गर्न खोजिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


