
बर्दिबास । महोत्तरीको बर्दिबास क्षेत्रमा वन अतिक्रमण हटाउने विषयलाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीय बासिन्दाले डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् ।
वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको वन कार्यालयको टोलीमाथि स्थानीयले विरोध जनाउँदै घेराउ गरेका थिए । त्यसक्रममा वन कार्यालयको गाडीमा आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी अजयकुमार मिश्रका अनुसार गए राति करिब १२ बजेतिर घटना भएको हो । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई नियन्त्रणमा लिन खोजेपछि सुरक्षाकर्मी परिचालन गरी उनीहरुको उद्धार गरिएको थियो ।
राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको भन्दै खाली गराउने प्रक्रिया अघि बढाइएको थियो । सोही विषयलाई लिएर स्थानीयवासी आक्रोशित बनेका हुन् ।
घटनापछि मंगलबार बिहानदेखि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् । क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


