
काठमाडौं । तत्कालीन नेकपा (एमाले) का महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुनेछन्।
फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विमर्शमा ओली, प्रचण्ड, नेपाल, खनाल र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा हुने यो कार्यक्रम पछिल्लो राजनीतिक परिवेशका कारण विशेष अर्थपूर्ण रूपमा हेरिएको छ।
वि.सं. २०४६ मा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव निर्वाचित भएका थिए। त्यसपछि वि.सं. २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भई नेकपा (एमाले) गठन भएको थियो।
त्यसैगरी, वि.सं. २०४९ मा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनबाट पनि उनी महासचिवमा पुनः निर्वाचित भएका थिए। वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।