![]()


सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक तथा प्राचीनकालीन वैदिक सनातन राष्ट्रको संकल्पकर्ता यबराज आचार्य सिक्किममा विशेष सम्मानबाट सम्मानित भएका छन्।
सिक्किमका रोहित राज महाराजले आचार्यलाई धार्मिक, सांस्कृतिक तथा सनातन मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको उच्च कदर गर्दै भव्य सम्मान प्रदान गरेका हुन्। सम्मान कार्यक्रममा सनातन धर्मप्रति आस्था राख्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मान ग्रहणपछि आचार्यले आफूलाई प्रदान गरिएको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण सनातन धर्मप्रेमीहरूको सम्मानका रूपमा लिएको बताए। उनले सिक्किमबाट प्राप्त आत्मीयता, सद्भाव र प्रेमप्रति आभार व्यक्त गर्दै भने, “यो केवल सम्मान मात्र होइन, सिक्किमवासीको माया, विश्वास र आत्मीयताको प्रतीक हो। यसले मलाई सनातन धर्म, संस्कृति र राष्ट्र चेतनाको अभियानलाई अझ समर्पित भएर अघि बढ्ने प्रेरणा दिएको छ।”
आचार्यले नेपाल र सिक्किमबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सनातन सभ्यता, वैदिक परम्परा र आध्यात्मिक चेतनाको संरक्षणका लागि संयुक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।
उक्त सम्मानलाई सनातन धर्म, संस्कृति र आध्यात्मिक एकताको सम्मानका रूपमा हेरिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले नेपाल–सिक्किमबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।