आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। साथै, आजै दसैँको महत्त्वपूर्ण धार्मिक परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ।
वैदिक सनातन धर्मको परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विशेष पूजा गरिन्छ। कालरात्रि देवीलाई दुष्ट शक्तिको नाश गर्ने तथा भक्तजनलाई भय र सङ्कटबाट रक्षा गर्ने शक्तिशाली देवीका रूपमा मानिन्छ। धार्मिक मान्यताअनुसार देवीको आराधना गर्दा भय, बाधा र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने विश्वास छ। विभिन्न पुराणमा कालरात्रि देवीको स्वरूप श्याम वर्णको र भयानक आकृतिको रहेको वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जौको जमरा राखेर नवदुर्गाको पूजा आरम्भ गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दि...






