राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु
१० फागुन, काठमाडौं — मोफसलका प्रतियोगिताका कारण स्थगित गरिएको राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सञ्चालनमा आउँदैछ।
आजको पहिलो खेलमा एपीएफ एफसी र नव जनजागृति क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः१५ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा सुरु हुनेछ।
त्यसैगरी, अपराह्न ४ बजे न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि एन्फा कम्प्लेक्समै आयोजना गरिँदैछ।
आजको खेल जित्न सके एपीएफ र एनआरटीले शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी सँग अंक बराबरी गर्ने अवसर पाउनेछन्। एपीएफ पाँच खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरका आधारमा एनआरटी चौथो स्थानमा रहेको छ।
हाल मछिन्द्रले ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। लिगमा मछिन्द्रसँगै लालिगुराँस एसोसिएसन, एपीएफ र त्रिभुवन आर्मी एफसी अपराजित टोलीका रूपमा रहेका छन्।
एन्...







