
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर निरन्तर उच्च रहँदा बिहीबारदेखि अवस्था ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। वायु गुणस्तर मापन सूचकांक (एक्यूआई) शुक्रबार बिहान ९ बजे २३० पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार हाल काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ। यस सूचीमा भारतको नयाँ दिल्ली १८९ एक्यूआई सहित दोस्रो स्थानमा रहेको देखिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का मापदण्डअनुसार २०१ देखि ३०० एक्यूआईलाई ‘अति अस्वस्थकर’ मानिन्छ। काठमाडौंको हालको स्तर यही श्रेणीमा पर्छ, जसले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई मात्र नभई सबैलाई स्वास्थ्य जोखिममा पार्ने बताइएको छ।
मापदण्डअनुसार १०१ देखि १५० एक्यूआईसम्म बालबालिका र संवेदनशील समूहका लागि अस्वस्थकर हुन्छ भने १५१ देखि २०० सम्म सबैका लागि अस्वस्थकर मानिन्छ। ३०० भन्दा माथि पुगेमा अवस्था ‘खतरनाक’ हुने चेतावनी दिइन्छ।
नेपालको वातावरण विभागका अनुसार भक्तपुर, दाङको देउखुरी, काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार र भैंसेपाटी क्षेत्रमा समेत वायु प्रदूषण अत्यधिक अस्वस्थकर तहमा पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदूषणको समयमा बिहान र बेलुका अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा निस्कनै परे मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।